Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

Hanumandhoka Durbar Museum

Hanumandhoka, Kathmandu, Nepal

हनुमानढोका दरबारको शिलालेख र भित्तिचित्र पुस्तकमा

Published By: Admin
Published Date: 2021-03-18


हनुमानढोका दरबार क्षेत्रका सम्पदाबारे दुई पुस्तक सार्वजनिक भएका छन्। डा. महेशराज पन्त लिखित ‘हनुमानढोका दरबार मनमोहनचोकको दलानको शिलापट्ट र त्यहाँका शिलामूर्ति’ र डा. जुनु बासुकला रञ्जितकार लिखित ‘हनुमानढोका दरबारका भित्तिचित्र’ बजारमा आएका हुन्।‘हनुमानढोका दरबार मनमोहनचोकको दलानको शिलापट्ट र त्यँहाका शिलामूर्ति’ पुस्तकमा मोहनचोकको दलानमा भएका ८ वटा अभिलेखको अनुवाद र व्याख्या गरिएको लेखक डा. पन्तले बताए।‘५० वर्षअघि गौतमवज्र वज्राचार्यले सो शिलालेखको लिपि उतारिसक्नुभएको थियो,’ पन्तले भने, ‘मैले भने लिपिको उल्था र व्याख्या पनि गरेको छु।’ इतिहासकमा अध्येयतालाई यो पुस्तक उपयोगी हुने उनले बताए।प्रताप मल्लको पालाको अभिलेखका केही खण्ड ओसले गर्दा बिग्रने अवस्थामा पुगेकाले संरक्षणमा ध्यान पुर्‍याउनुपर्ने डा. पन्त बताउँछन्। ‘विगत ५० वर्षको अवधिमै केही–केही खण्ड नबुझिने भइसकेको छ,’ पन्तले भने।त्यस्तै गरी ‘हनुमानढोका दरबारका भित्तिचित्र’ मा मोहनचोकको पूर्वी लङमा भएको भित्तिचित्रको अध्ययन गरिएको लेखक डा. जुनु बासुकला रञ्जितकारले बताइन्।‘मोहनचोकको पश्चिमी लङको भुइँतलामा रहेको कोठामा राजा प्रताप मल्लले अष्टमातृकाका सुन्दर मूर्ति स्थापित गरेका र यिनको पछाडि रम्भासुर दैत्यको कथा भित्तामा चित्रित छ,’ डा. बासुकलाले भनिन्।उनका अनुसार मोहनचोकको पहिलो तलाको पूर्वी लङमा रहेको पहिलो खण्डमा रहेको दुर्गासप्तशतीमा आधारित भित्तिचित्र र दोस्रो खण्डमा रहेको गणेश, ब्रह्मा, विष्णु, शिव, कुमार र कालीका भित्तिचित्र छन्।‘पृथ्वीनारायण शाहको शयनकक्षको उत्तरी लङमा मातृका र गणेशका भित्तिचित्र र पश्चिमी लङमा युनानी शैलीका स्त्रीको भित्तिचित्र छ,’ उनले भनिन्।कलाका सौखिन, शिक्षक, विद्यार्थी तथा इतिहास अध्ययनमा लागेकालाई पुस्तक उपयोगी हुने अपेक्षा लेखकको छ।हनुमानढोका दरबारमा कयौं अप्रकाशित चित्र छन्। हनुमानढोका दरबार संग्रहालय तथा हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले कोरोना महामारीका कारण नियमित कार्यक्रममा व्यवधान आएकाले आगामी वर्षको योजनामा अध्ययनअनुसन्धान समावेश गरिने बताए।‘कोरोनाका कारण यस वर्ष पुस्तक प्रकाशन, अनुसन्धानका काम गर्न सकिएन। अर्को वर्ष अनुसन्धान र प्रकाशनको योजनालाई नियमित कार्यक्रममा समावेश गरिनेछ,’ खनालले भने।हनुमानढोका दरबारका अप्रकाशित अभिलेख धेरै रहेको उनी बताउँछन्। खनालले भने, ‘कति उल्था भएका र प्रकाशन गर्न बाँकी अवस्थामा छन् भने कतिको उल्था गर्नै बाँकी छ।’शिलालेख र ताम्रपत्रसँगै काष्ठकला तथा भित्तिचित्रहरुको अध्ययन कार्य अघि बढाइने योजना कार्यालयको रहेको उनले बताए।
‘दरबारको परिसर मात्र होइन यो समग्र क्षेत्र नै जीवन्त संस्कृतिको केन्द्र हो’, खनालले भने, ‘तसर्थ मूर्त सांस्कृतिक सम्पदाको मात्र होइन अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययनलाई पनि नियमित कार्यक्रममा समावेश गरिने योजना छ।’काठमाडौं उपत्यकामा तीनवटा मल्ल दरबार अर्थात् हनुमान्ढोका दरबार, पाटन दरबार भक्तपुर दरबार छन्। नेपाल भाषामा यी तीनैवटा दरबारको क्षेत्रलाई ‘लाय्कु’ भनिन्छ।हनुमानढाेका दरबारको पुरानो नाम गुनपो थियो। राजा प्रताप मल्ले वि.स. १७२९ मा दरबारको मूलढोकाको दायाँपट्टि हनुमान स्थापना गरेपछि मात्र यस दरबारको नाम हनुमानढोका दरबार भएको हो।हनुमानढोका दरबार संग्रहालय आन्तरिक तथा विदेशी पर्यटकको अवलोकनको केन्द्र हो। यस दरबार संंग्रहालयमा कोरानो महामारीअघि वार्षिक एक लाख ३३ हजार आगन्तुक आएका थिए। हाल यहाँ दैनिक सयभन्दा बढी अवलोकनकर्ता आउने गरेका छन्।

© 2021 Hanumandhoka Durbar Museums. All rights reserved.